डाक्टर पायलले गरिन आत्महत्या

एजेन्सी। छिमेकी राष्ट्र भारत स्थित मुम्बइको नायर अस्पतालकी मेडिकल छात्रा पायल तडवीले आफ्नै वरिष्ठबाट पटकपटक हुने गरेको जातीय दुर्व्यवहार सहन नसकेर आत्महत्या गरेको समाचार यतिबेला भारतिय मिडियामा चर्चामा छ । तडवीको परिवारले आरोप लगाएको छ की पटकपटक हुँदै आएको जातीय दुर्व्यवहारयुक्त टिप्पणीबारे जानकारी गराए पनि अस्पताल प्रशासनले कुनै कदम नचालेपछि यस्तो घटना हुन पुुुुग्यो ।

उनकी आमा अवेदाले भनिन, ‘जब म पायलसँग कुरा गर्थे उसले तीन वरिष्ठ चिकित्सकको नाम लिएर उनीहरुले आफूमाथि जातीय दुर्व्यवहार गरेको बताउने गर्थिन् । यसबारेमा अस्पताल प्रशासनलाई पनि जानकारी गराइएको थियो तर केही भएन अझै पनि हामीलाई न्याय चाहियो ।’

पायल नायर अस्पतालमा सन् २०१८ मा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत थिइन् । आरक्षित कोटामा प्रवेश गरेका कारण उनीभन्दा वरिष्ठ चिकित्सकले लामो समयदेखि उनीमाथि निरन्तर जातीय दुर्व्यवहार गर्दै आएका थिए ।पायलले यसबारे होस्टलका अधिकारी र अस्पताल प्रशासनसमक्ष उजुरी गरे पनि सुनुवाई हुन नसकेपछि उनले गत मे २२ मा आत्महत्या गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । यस घटनाका आरोपी भनिएका तीन चिकित्सक हेमा आहुजा, भक्ति मेहर र अंकिता खन्डिलवाल फरार रहेको बताईएको छ।