आमाले एकैछिन बच्चा छाड्दा

चिकित्सकको डायरी
बिहानको ११ बजे। ड्युटीको समय। राउन्डमा निर्णय गरिएका काम पूर्ण गर्ने क्रममा एनआईसीयूमा हुँदा एक्कासि मेरो स्क्रब डे«सको दाहिने खल्तीमा भएको ड्युटी फोन बज्छ।

फोन हेर्छु। इमर्जेन्सीबाट आएको रहेछ। अब ड्युटी सुरु भइहाल्यो नि भनेर फोन उठाउँछु। उताबाट मेडिकल अफिसर बोल्छन्, ‘हेलो दिदी, चार महिनाको बच्चा आएको छ रगत बान्ता गरेको।’ उनकी आमाका अनुसार बच्चाको नाकबाट पनि एकपटक रगत आएको थियो रे। बिहान नाकमा चोट लागेको जस्तो पनि छ। एकपटक हेर्न आउनुस् न।’

मेडिकल अफिसर बिरामीको समस्याबारेमा यति बताउँछन्। म दुईचार प्रश्न गर्छु; जुन इमर्जेन्सी उपचारका लागि जरुरी हुन्छ। जस्तै– स्याचुरेसन, पल्स रेट, पल्स भोलुम आदि। उनी भन्छन्, ‘सबै ठीक छ। ओपीडी नै पठाउन मिल्छ। मैले भनें, ‘नाकमा चोट लागेर त्यस्तो भएको रहेछ भने किन बिरामीलाई यताउता पठाएर दुःख दिनु ? बरु म त्यहीं हेर्न आउँछु।’

इमर्जेन्सी पुगेपछि बच्चाको आमालाई सोधें, ‘बच्चालाई के भएको हो ?’,

उनी भन्छिन्, ‘बिहान रगत बान्ता गर्दै थियो।’

फेरि सोधें, ‘रुघा, खोकी, ज्वरो केही आएको थियो ? नाक र मुखमा चोट लाग्ने गरी बच्चा लडेको थियो ?’

बच्चाकी आमा भन्छिन्, ‘छैन।’

फेरि सोधें, ‘शरीरका अरू ठाउँबाट रगत बगेको अथवा बच्चाका हात–गोडा सुन्निएको अथवा दिसापिसाबमा रगत देखिएको थियो ?’ उनी भन्छिन्, ‘अहँ। बरु बिहान नाकबाट पनि अलिकति रगत आएको थियो।’

मेमा शंकाको घेरा फराकिँदै जान्छ। सोधें, ‘बान्तामै रगत आएको हो त ? कि खोक्दा अलिअलि छिटा मात्र आएको हो ?’

उनी भन्छिन्, ‘थुकसँगै रगत मुखबाट बाहिर बगेको थियो। ठ्याक्कै बान्ता गरेकै त हैन।’

आमाको काखमा बसेर रोइरहेको बच्चाको पनि अवलोकन गरिरहेकी थिएँ सोधखोजका क्रममा। संसारकै सुरक्षित मानिएको आमाको काखमा पनि बच्चाका आँखाबाट असुरक्षाका भावना आँसुसँगै पोखिइरहेको थियो। उनका आँखाले केही भन्न खोजिरहेजस्तो मलाई लागिरह्यो। स्वर सुक्ने गरी ऊ रोइरहेको थियो घन्टौंदेखि।

म स्टेथेस्कोप निकालेर बच्चालाई जाँच्ने क्रम बढाउँछु। उनको छाती सफा छ। नाकबाट रगत बग्नुको केही कारण देखिन्न। छाम्दा पेटमा पनि केही खराबी भएजस्तो लाग्दैन। खाजा खाएर फर्किने क्रममा इमर्जेन्सी प्रवेश गरें। जाँच उपकरणका नाममा मसँग केवल स्टेथेस्कोप मात्र थियो। बच्चाका आमालाई टाउको र बाउलाई हातखुट्टा समात्न लगाएँ। आफ्नै मोबाइलको टर्च बालेर बच्चा रोइरहेका बेला उसको घाँटीभित्र हेरें नजिकैको र्‍याकमा राखेको टङ डिप्रेसर ल्याएर।

म आश्चर्यचकित पर्छु। थुक जम्मा भएको घाँटीको पछाडि भागमा कालोकालो छायाँजस्तो देखें। एकछिन टर्च निभाएर सोचमग्न भएँ। दोहोर्‍याएर उही प्रक्रियाले घाँटी हेरें। देख्छु– जम्मा भएको थुकको पछाडि कालोकालो काठजस्तो केही वस्तु घाँटीको माथिदेखि तलसम्म छ।

बच्चाका आमालाई सोधें, ‘बच्चाको घाँटीमा केही छ। पछाडि भागमा टाँसिएर बसेको जस्तो छ। उसले मुखमा केही हालेको थियो कि ?’

उनी भन्छिन्, ‘खोइ, थाहा छैन। १० मिनेटजति बाबुलाई छाडेर पसलतिर गएकी थिएँ। आउँदा यस्तो भइराखेको रहेछ।’

मैले सोधें, ‘बच्चा कति वर्षको भयो ?’

बच्चाका बाउ भन्छन्, ‘तीन वर्ष।

चिकित्सक त उपचारमा संलग्न व्यक्ति मात्र हुन्, भगवान् त अभिभावक मात्र हुन्छन्। अभिभावक नै बालबालिकाको समस्याप्रति बढी गम्भीर हुनुपर्छ। बच्चाका शिरदेखि पाउसम्मका समस्या औंल्याउन सक्ने हुनुपर्छ।
यसपछि मेरो शंका झनै बढ्यो। त्यसबखत मेरो आग्रहमा इमर्जेन्सीमा रहेका अन ड्युटी मेडिकल अफिसर र कन्सल्ट्यान्टले पनि हेरे र भने, ‘खासै देखिएन।’

म फेरि उही प्रक्रियाले हेर्छु र उही वस्तु जम्मा भएको थुककोे पछाडि नदेखिने गरी बसेको देख्छु। मेरो मन मान्दैन। नाक–कान–घाँटीमा अध्ययनरत साथीलाई फोनबाट सबै यथार्थ बताउँछु। आएर हेरिदिने वचन दिन्छिन् उनी। त्यसपछि बच्चाका आमाबाउलाई आश्वासन दिएर इमर्जेन्सीबाट एनआईसीयू÷पीआईसीयूतिर म गएँ।

लगभग २० मिनेटपश्चात् साथीलाई फोन गर्दा भनिन्, ‘कन्फर्मेसनका लागि बच्चालाई एक्सरे गर्न पठाइएको छ।’

उनलाई भनें, ‘रिपोर्ट आएपछि हेरेर मलाई खबर गर है।’

लगभग १० मिनेटपछि अर्को बिरामी हेर्न म इमर्जेन्सी जान्छु। देख्छु, ‘बच्चाका आमाबाउका साथमा गएका इन्टर्न भाइ भन्छन्, ‘अपरेसन तयारी गर्नुपर्‍यो, फरेन बडी रिमुभल।’

ममा कूतुहलको सीमा रहेन। सोधिहालें, ‘के रहेछ ?’

उनी भन्छन्, ‘घाँटीमा भित्तामा ठोक्ने ठूलोे किला रहेछ।’

म निशब्द हुन्छु। एक्सरे हेरें। लगभग डेढ इन्चको किला घाँटीभित्र फोक्सोमा जाने तयारी अवस्थामा रहेछ। बच्चालाई अपरेसनका लागि तत्काल लगियो। किला घाँटीबाट निकालियो।

बेलुका ६ बजेतिर अपरेसन सकिएपछि बच्चालाई अब्जरभेसनका लागि पीआईसीयूमा भर्ना गरियो। अप्रेसनको जिम्मा हाम्रो नभए पनि पीआईसीयूमा भर्ना गरिएपछि हरेक बच्चा हाम्रो जिम्मेवारी हुन आउँछन्। झन् त्यसमाथि त्यो कलिलो शिशुसँग त एक किसिमको सम्बन्ध नै गाँसिएजस्तो भइसकेको थियो, जुन म शब्दमा बयान गर्न सक्दिनँ। ड्युटी डाक्टर भएको नाताले अपरेसनपछि बच्चाको स्थिति परीक्षण गर्न म पीआईसीयू छिर्छु।

बच्चा आनन्दले सुतिरहेको थियो। म उनलाई हेरेको हेर्‍यै हुन्छु। उनकी आमाले आँखाभरि आँसु पारेर मेरो हात समातेर भन्निन्, ‘हजुरले नहेरेको भए मेरो बाबु बाँच्थेन होला। हजुरभन्दा अगाडि तीनचारजना डाक्टरले जाँचिसक्नुभएको थियो तर बत्ती बालेर, काठले जिब्रो थिचेर घाँटीभित्र कसैले पनि हेरेका थिएनन्।’

उनका कुरा सुनेपछि समुद्री किनारमा पानीको छाल झैं मेरो मनमा भावना छचल्किन थाल्यो– उनका यिनै शब्द सुन्न म यो क्षेत्रमा प्रवेश गरेकी रहेछु। यिनै बच्चाको ज्यान बचाउन दिनरात नभनी अध्ययन गरेकी रहेछु। उनका आमाबाउको आँसु पुछ्न मेरा आमाबाउले पसिना बगाएर मलाई चिकित्सा शिक्षा पढाउनुभएको रहेछ। अनायासै मेरा आँखामा पनि आँसु टल्पलिन्छ।

त्यस दिनको घटनाले मलाई धेरै कुरा सिकायो। मेरा प्रोफेसर भन्नुहुन्थ्यो, ‘रोगले किताब पढेको हुँदैन। किताबका पानामा लेखिएजस्तो हुबहु लक्षणका बिरामी आउँछन् भनेर कहिल्यै नसोच्नू।’ यो कुरा यस क्षेत्रमा आबद्ध आम चिकित्सक र बिरामीको उपचारमा संलग्न व्यक्तिले पनि बुझ्न आवश्यक छ।

भन्छन्– बालबालिका भगवान्का अंश हुन्। उनीहरू न बोल्न सक्छ्न्, न लेख्न सक्छन्, न त इसारा गर्न सक्छन्। अझ चार महिनाको कलिलो शिशुले आफ्नो पीडा केवल रोदनबाट मात्र हाम्रो मनमस्तिष्कमा पुर्‍याउने हुन्। कतिसम्म भने कहिलेकहीं हामीलाई पनि आफ्नो रोग तथा पीडा अरूलाई अथ्र्याउन गाह्रो पर्छ। उपचारका क्रममा मैले समस्यालाई गम्भीर रूपमा नलिई ‘बच्चाले रुनु सामान्य हो’ भन्ठानेकी थिएँ भने बच्चाले थप पीडा भोग्नुपथ्र्यो। अथवा जे पनि हुन सक्थ्यो।

ठूला मान्छे र बालबच्चाको उपचार गर्नुमा आकाश–जमिनको फरक छ। हामी भन्छौं– कुरा नबुझ्नेलाई बुझाउन सक्छौं तर बालक हामी जे दिन्छौं, जे गर्छौं, त्यही स्विकार्न विवश हुन्छन्। असमर्थताका नाममा उनीहरू आँखाबाट आँसु निकाल्न र रुन मात्र सक्छन्। यसर्थ चिकित्सकले बालबालिकाको उपचार, रोग, मनोविज्ञान आदिलाई सामान्य रूपमा लिनु सर्वथा गलत हुन्छ। उनीहरूका भावना, पीडा र रोदनमा डुब्ने कोसिस गर्नैपर्छ। आफ्ना मानसपटलमा उतार्नैपर्छ। तब मात्र रोग खुट्टिई बालबालिकाको उपचार सम्भव हुन सक्छ।

अर्को कुरा, चिकित्सक त उपचारमा संलग्न व्यक्ति मात्र हुन्, भगवान् त अभिभावक मात्र हुन्छन्। अभिभावक नै बालबालिकाको समस्याप्रति बढी गम्भीर हुनुपर्छ। बच्चाका शिरदेखि पाउसम्मका समस्या औंल्याउन सक्ने हुनुपर्छ। अभिभावकले बालबालिकालाई एकछिन छाड्दा उनीहरूको जीवन कतातिर मोडिन्छ भन्ने यस घटनाबाट स्पष्ट भइसकेको छ। यस्ता घटना दोहोरियो भने अरू बालबालिकाले पनि यस्तैयस्तै नियति भोग्नुपर्छ। किनभने भाग्यले सधैं साथ दिन्छ भन्ने छैन।

—अधिकारी धुलिखेल अस्पतालका चिकित्सक हुन्।