पठाओ सञ्चालक भन्छन्ः हामीलाई अरुले होइन, जनताले संरक्षण गरेका छन्

निजी सवारी साधनमार्फत यात्रु ओसारपसार गराउँदै आएका राइड सेयरिङ कम्पनीहरु नेपालमा बारम्बार विवादमा आइराख्छन् । यस्ता कम्पनीको सेवाले जनतामा सकारात्मक छाप परेको भए पनि कतिपयले उनीहरुमाथि कानूनी प्रश्न उठाउने गरेका छन् । यस्तो प्रश्न उठाउनेमा सबैभन्दा अगाडि छन् ट्याक्सी व्यवसायीहरु ।

हालै मात्र ट्याक्सी व्यवसायीको झुण्डले एक पठाओ राइडरमाथि हातपात गरे । आफूहरुको पेशा धरापमा पार्ने गरी यात्रु ओसारपसार गरेको भन्दै पठाओ राइडरमाथि ट्याक्सी ड्राइभरले कुटपिट गर्दा सामाजिक सञ्जाल पठाओको समर्थनमा उभिएको थियो । त्यस घटनापछि पठाओले आफ्ना राइडरहरुलाई पहेँलो ज्याकट लगाउन निषेध गरेको छ ।

कम्पनीले अब आफ्ना राइडरहरुलाई कसरी सुरक्षा दिन्छ ? व्यवसायको कानूनी धरातल कमजोर रहेको विषयलाई उसले कसरी हेरेको छ ? सरकारसँग कम्पनीका मागहरु के छन् ? यी यावत विषयमा हामीले पठाओका क्षेत्रीय निर्देशक आशिममान सिंह बस्नेतसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको मुख्य अंशः

पठाओ र ट्याक्सी व्यवसायीबीच विवादको चुरो के हो ? किन पठाओ राइडरमाथि ट्याक्सी चालकले हमला गरे ?

वास्तवमा पठाओ र ट्याक्सीबीच कुनै विवाद छैन् । हाम्रो सम्वन्ध समधुर नै छ । कुरा नबुझेर त्यो अवस्था सिर्जना भएको हो । ट्याक्सी चालकले पहिले पठाओको राइडर हो भन्ने सोचेका रहेछन् । तर, उनीहरु हाम्रा राइडर होइनन् ।

त्यसोभए समाचारमा कसरी आयो पठाओ राइडर कुटिएको कुरा आयो ?

उनी हामीसँग जोडिएको भए पनि घटना भएको बेलामा अफलाइन थिए । त्यस्तो अवस्थामा हाम्रो राइडर भन्न मिल्दैन ।

पठाओको परिभाषाअनुसार एउटा अनुरोध रिसिभ गरेर पुरा गर्ने समयसम्म मात्रै उ पठाओको राइडर हुने हो । पठाओमा नै जाँदाजाँदै पनि अन्य प्लेटफर्म प्रयोग गर्न सकिन्छ ।

त्यो दिनको घटनामा एकजना पठाओ राइडरले बाटोमा बसेर अफलाइन मान्छे तानिरहेका थिए । त्यो हाम्रो रेकर्डमा रहँदैन । पठाओ एपभन्दा बाहिर बसेर ट्याक्सीले बोक्न लागेको यात्रुसँग सस्तोमा म लान्छु भनेको कारणले झडप भएको हो । ती व्यक्ति पठाओलगायतका अन्य एपमा पनि आवद्ध थिए ।

पठाओको कुन राइडरमाथि हमला भएको हो भन्न पनि तपाईंहरुलाई ३ दिन लाग्यो, पठाओसँग डाटा बेस गतिलो छैन ?

अहिलेसम्म ८० हजारभन्दा धेरै राइडर पठाओमा जोडिनु भएको छ । ८० हजारमा १५ हजार महिला हुनुहुन्छ । कोरानापछि हामीले थोरैलाई मात्रै सक्रिय बनाएका छौं । जसमा १६ हजार जति मात्रै छन् ।

पठाओले राइडरसँग २० प्रतिशत शुल्क मात्रै लिन्छ तर केही सुविधा दिँदैन भन्ने आरोप छ नि ?

यो गलत हो । सुविधा दिँदैन भन्ने होइन । हामीले बीमाको व्यवस्था गरेका छौं । तर बीमा दाबी गर्न पठाओको एपमा बुक भएअनुसारको यात्रु र पठाओ राइडरले यात्रा गरेको र गराएको हुन पर्दछ ।

राइड सेयरिङ कम्पनीहरुमध्ये बीमा गराउने पठाओ मात्रै हो । हामीले बीमा सुरु गरेको ३ महिना भएको छ । र बीमा भुक्तानीसमेत पाएका छन् ।

पठाओजस्तै अन्य धेरै एप सञ्चालनमा छन् । तपाईंहरुको शुल्क पनि अरुभन्दा अलि महंगो छ । घटाउनुहुन्न ?

हाम्रो शुल्क घटाउनु पर्ने अवस्था छैन । प्रतिशत र कमिसनले मात्रै शुल्क निर्धारण गर्ने भन्ने हुँदैन । कम्पनीको सेवा र सुविधा कस्तो छ भन्ने कुरा आउँछ ।

अन्य कम्पनीले शुल्क नै नलिई पनि सञ्चालन गरेका छन् । तर ती कम्पनी किन चल्न सकेका छैनन् त ? हाम्रो सञ्चालन खर्च पनि अरुको भन्दा धेरै भएकाले शुल्क अलि धेरैजस्तो देखिएको हो । शुल्क अनुसार सेवा र सुविधा दिइरहेका छौं ।

हामीले शुल्क घटाउँदै जाने हो भने हाम्रो कल सेन्टर र सुविधाहरु पनि घट्दै जानेछ । त्यसैले शुल्क घटाउँदैनौ ।

यात्रुले पठाओ बुक गर्दा बाइक नम्बर एउटा आउँछ, पछि यात्रु लिन अर्कै नम्बरको आउँछ । यस्तो किन हुन्छ ?

पठाओमा आएर बदमासी गर्ने एक जमात छ । उनीहरुलाई हामीले पहिले पनि कारवाही गरेका थियौं । पठाओमा जोडिएर गलत गरेपछि हामीले उनीहरुलाई सेवा लिने र दिने अनुमति बन्द गर्यौं । पछि साथीभाईबाट पठाओमा दर्ता गरेर अझै वदमासी गरिरहनु भएको छ ।

हामीले बदमासी गर्ने राइडरहरुलाई पनि अब पुलिसमा गएर कारवाही गर्ने छौं । यात्रुलाई पनि बुक गर्दा एउटा र लिन आउँदा अर्काे आयो भने प्रयोग नगर्नु भन्ने गरेका छौं । यस्तो अवस्थामा दुर्घटना भयो भने बीमाको रकम सहजै प्राप्त हुँदैन ।

पठाओको एउटा ज्याकेटको नै २ हजार रुपैयाँ ठटाउने गर्नुभएको छ । महंगो भएन र ? पठाओको राइडरले नै अन्दोलन गर्नुपर्ने अवस्था पनि आएको थियो नि ?

ज्याकेट हामीले सुरुमा सित्तैमा पनि वितरण गरेका थियौं । सुरुमा थोरैलाई दिने योजना थियो । तर माग धेरै भएपछि हामीले निशुल्क दिन नसक्ने भयौं ।

हामीले ज्याकेटसँगै एउटा किटको नै व्यवस्था गरेका थियौं । त्यो हामीले बिक्री गरेको पनि हैन । त्यसका लागि अन्य कम्पनीलाई जिम्मा दिएका थियौं । किट व्यवस्था गर्दा पठाओले १ रुपैयाँ पनि पैसा लिएको छैन ।

जहाँसम्म आन्दोलनको कुरा छ, त्यो चाहिँ गलत तरिकाले पठाओमा जोडिएकाहरुले गरेका हुन् । पठाओमाथि आन्दोलन गर्न एउटा समूह परिचालित नै छ ।

नेपालको कानूनले रातो नम्बर प्लेट भएको सवारीसाधनले यात्रु ओसारपसार गर्न पाइदैन भनेको छ । तर, पनि सरकारबाट राम्रै संरक्षण पाइरहनुभएको छ होइन ?

पुरानो कानूनमा रातो र कालो नम्बर प्लेटले के-के काम गर्ने भन्ने थियो । तर बाग्मती प्रदेशको निर्माणाधीन कानूनले रातो नम्बर प्लेट भएका सवारी साधनलाई पनि राइड सेयरिङ कम्पनी सञ्चालन गर्न दिने भनेको छ । अहिले यातायातको विषय संघीय सरकारले भन्दा पनि प्रादेशीक सरकारले नै हेर्ने हो । पाटन उच्च अदालतले पनि सरकारलाई चलाउन मिल्ने कानून निर्माण गर्नु र राइडसेयरिङ कम्पनीहरुलाई नरोक्नु भनेर परामादेश जारी गरेको छ ।

सरकारले हामीलाई संरक्षण गरेको हैन । कानून बाझिएको बेला अदालतले सञ्चालन गर्नु भनेकोले नै अहिले सञ्चालन भहिरहेको हो ।

ट्याक्सी व्यवसायीले हामी पठाओमाथि मुद्दा हालेर जसरी पनि बन्द गराउँछौं भनिरहेका छन् नि ?

ट्याक्सी व्यवसायीले पाटन उच्च अदालतमा मुद्दा हालेर हारिसक्नुभएको छ । उहाँहरुले पुनः मुद्दा हाल्न पाउनुहुन्छ । सर्वच्च अदालतले बन्दै गर्नुपर्छ भन्यो भने हामीले बन्द नै गर्नु पर्छ । पाटन अदालतले सञ्चालन गर्नु भनेकोले अब बन्द हुँदैन होला ।

हामी समय अनुसार परिवार्तन नभएको भए आज हामी पञ्चायतको कानुनमा नै हुने थियौं । समयको माग अनुसार कानुन परिवर्तन हुँदै जान्छ । हामीलाई विश्वास छ, राइड सेयरिङ कम्पनी सञ्चालन गर्ने कानुन बन्छ ।

ट्याक्सी व्यवसायीले कानुनअनुसार कर तिरेको र तर राइड सेयरिङ कम्पनीले कर नतिरेको कुरा पनि त छ नि ?

पठाओले हरेका वर्ष आफ्नो दायित्वमा आएको भ्याट तथा आयकर तिरिरहेको छ । हामीले जसरी ट्याक्सीले सायद आयकर तिरेको छैन होला ।

सामाजिक सञ्जालमा पठाओको पक्षमा माहोल बनेको देखिन्छ, यसको कारण के होला ?

राम्रो काम गरेकाले नै हामीलाई जनताले साथ–सहयोग र संरक्षण गरेका हुन् । हामीले जाने र सके जति राम्रो गर्ने प्रयास गरेका छौं । कानुन निर्माण, सेवा र रोजगारीका लागि लगातर काम गर्ने प्रयास गरेकाले नै हाम्रो पक्षमा माहोल भएको होला ।

पठाओमा जोडिएका ट्याक्सीहरु मिटरमा गुड्ने ट्याक्सीभन्दा महंगो भएको जनगुनासो छ, यसलाई कसरी सम्वोधन गर्नुहुन्छ ?

मिटरमा गुड्ने ट्याक्सीभन्दा पठाओमा जोडिएर यात्रा गर्ने ट्याक्सीको ८६ रुपैयाँ बढी भाडा आउँछ । चालकले गर्ने फोन र प्रयोग गर्ने डाटा पनि त्यो शुल्कमा जोडिन्छ । ८६ रुपैयाँ बढि भाडा आए पनि सुरक्षित र सरल हुने भएकाले पठाओमा जोडिएको ट्याक्सी नै यात्रुले रोजेका हुन् ।

तपाईंले भन्नुभयो मिटरमा गुड्ने ट्याक्सीभन्दा ८६ रुपैयाँ महंगो छ भनेर, अनि कसरी पठाओले ट्याक्सीसँग प्रतिस्पर्धा गरिरहेको छ त ?

यो भनेको समाज परिवार्तन हो । दिनभर घाममा यात्रु कुरेर बस्नु पर्दैन । पठाओमा जोडिएको ट्रक्सीले एपमार्फत यात्रुलाई सेवा दिन पाउँछन् ।

राम्रो जागिर खाएको व्यक्ति पनि केही कमाइ गरौं भनेर १/२ घन्टा पठाओमा जोडिन सक्छन् । यसले आर्थिक अवस्था राम्रो हुन्छ ।

सरकारसँग तपाईंहरुका माग के–के छन् ? सरकारले के गरिदियो भने तपाईंहरुलाई सहज हुन्छ ?

हामी साढे २ वर्षदेखि राइड सेयरिङको कानुन निर्माण लागि घच्घच्याइरहेका छौं । सरकारले पनि कानुन निर्माणको काम अगाडि बढाएको छ । हामी सम्वन्धित निकायमा गएर कानुन निर्माणको पहल गरिरहेका छौं । सरकारले पनि यसलाई कानुन निर्माण गरेर सहज र सरल बनाइदिए हामीलाई सजिलो हुने थियो ।

पठाओको सेवा देशैभर विस्तार गर्ने केही योजना छ ?

हामीले बाग्मती प्रदेशमा सेवा विस्तारको लागि योजना बनाइरहेका छौं । उपत्यकाभन्दा बाहिर बाग्मती प्रदेशका शहरहरुमा पठाओ विस्तार गर्ने छौं । उपत्यकासँगै जोडिएका सहर र देशैभर राइड सेयरिङबाट हुनसक्ने विकासका कामहरु हामीले गर्ने छौं ।

काठमाडौं उपत्यकामा ट्याक्सीलाई पठाओसँग जोड्नु भयो, अन्य सहरहरुका अटो जोडिन्छन् ?

अहिले हामीले बाइक, स्कुटर, ट्याक्सी र फुडलाई जोडेका छौं । पठाओका अन्य अप्सनहरु पनि छन् । ती अप्सनमा गएर अरु यातायातको साधन जोड्न सकिने छ ।

पठाओमा कतिसम्मको बीमा हुन्छ ?

नेपालको एउटा मात्रै राइड सेयरिङ कम्पनी पठाओ हो, जसले ६ लाखसम्मको बीमा गरिरहेको छ ।

पठाओको दैनिक वा मासिक आम्दानी र खर्चको अवस्था के छ ?

दैनिक वा महिनाको कमाइ भन्न गारो छ । हामी लकडाउनको समयमा घाटामा थियौं । हाम्रो सञ्चय र खर्च दुबै भहिरहेको हुन्छ । अहिले अलिकति पैसा बचेको छ । त्यो पैसा उपत्यकाभन्दा बाहिर पठओ सञ्चालन गर्दा खर्च हुन्छ ।

पठाओमा महिला यात्रुमाथि हुन सक्ने दुव्र्यवहार रोक्ने के–कस्ता उपाय अबलम्बन गरिरहनुभएको छ ?

महिलामाथि दुव्र्यवहार भयो भने त्यो सिधै फौजदारी अपराधमा जान्छ । पठाओ प्रयोग गर्दा यात्रु वा राइडरलाई दुव्र्यवहार भएमा पठाओको टोलिले प्रहरीमा गएर सहयोग गर्ने छ । अहिलेसम्म त्यस्तो घटना घटेको छैन ।

हामीले पठाओमा जोडिने बेलामा नै राइडरलाई दुव्र्यवहार भनेको के–के हो र यसको दण्ड–सजाय के के हुन्छ भनेर जानकारी गएका हुन्छौं ।

एउटै राइडरले किन सबै प्रकारका राइड सेयरिङ एप प्रयोग गरिरहेका छन् ?

राइडरले आफ्नो तरिकाले राइड सेयरिङ एपको प्रयोग गर्न पाउनुहुन्छ । उहाँहरुको इच्छाअनुसार फरक–फरक एपमा पनि जोडिनसक्ने स्वतन्त्रता छ ।

सार्वजनिक यातायातमा सरकारले भाडादर तोकेको छ, तर तपाईंहरु आफैं भाडा तोकेर चलाइराख्नु भएको छ । यो कति उचित हो ?

हाम्रो भाडादर मार्केटले तोकेको छ । हाम्रो वेस रेट १५ रुपैयाँ हो । यात्रुको माग अनुसार भाडादर निर्धाण हुन्छ ।

भाडादर निर्धारण गर्दा सरकारसँग छलफल गर्नु पर्दैन ?

हामीले कानुन नभएको कारण सरकारसँग छलफल गर्न सकेनौं । सरकारको विभिन्न निकायमा भाडाको विषयमा बुभ्mन जाँदा उहाँहरुले पनि कानुन नै नभएको बताउनु हुन्छ । भाडादर मात्रै होइन राइडरले कर कुन ठाउँमा गएर कसलाई कति तिर्ने भन्ने पनि प्रश्न छ ।

पठाओले सरकारलाई प्रतिवर्ष कति कर तिर्छ ?

हामीले सरकारलाई अघिल्लो वर्ष करिब साढे ४ करोड कर तिरका हौं ।

पठाओमा जोडिएर विहानदेखि बेलुकासम्म राइड गर्ने राइडरले कति कमाउँछन् हाला ?

प्रतिमहिना हामीलाई २० प्रतिशत बुझाएर ६० हजारसम्म कमाइरहनु भएको छ । धेरै कमाउनेहरुले ८० हजारसम्म कमाउनु भएको छ । मेहनतका साथ काम गर्नेले सबै खर्च कटाएर ४० हजारसम्म बचाउनुहुन्छ ।

अन्य यात्रु बोक्ने एप प्रयोगमा आएपछि पठाओको विजेनेसमा असर गरेको छैन ?

छैन् । लकडाउनपछि हाम्रो ६ देखि ८ प्रतिशतले यात्रुहरु वृद्धि हुनुभयो । हाम्रो पठाओमा प्रतिदिन ८० हजारसम्म टिप आउने गरेको छ । ५५ देखि ८० हजारसम्मले प्रतिदिन सेवा लिने गरेका छन् ।

ट्याक्सीले नै विरोध गरिरहेको समयमा पठाओमा कति ट्याक्सी जोडिएका छन् ?

लकडाउनभन्दा पहिले ५ हजार ५ सय ट्याक्सी जोडिनु भएको थियो । लकडानभन्दा पछि २५ सय ट्याक्सी हामीसँग जोडिनु भएको छ ।

पहिले राइडरलाई पठाओको ज्याकेट नलगाए कारवाही गर्ने भन्नुभयो, अहिले ज्याकेट लगाए कारवाही गर्ने भन्नुभएको छ । किन दोहोरो मापदण्ड ?

ट्याक्सी र पठाओको ज्याकेट लगाउने बीचमा झडप हुने भएकाले नै ज्याकेट लगाउन बन्द गरेका हौं । ज्याकेट लगाएपछि बाटोमा बसेर मान्छे ठग्न सजिलो भएको कारणले पनि ज्याकेट बन्द गरिएको हो ।

हामीलाई ठगी भयो भनेर पनि उजुरी परेको रहेछ । पहिले सिडियो कार्यालयले नै फुल सुटमा हिँड्नु भनेर आदेश दिएको थियो । पछि पुनः ज्याकेटको कारणले झडप हुने भएकाले ज्याकेट बन्द भएको हो ।

ट्याक्सीले पनि पहिले एपबाट सञ्चालन गर्छु भन्दा सरकारले रोकेको रहेछ, तपाईहरुलाई एपबाट सञ्चालन गर्न दिइयो, प्रधानमन्त्री कार्यालयले पनि पठाओ नरोक्नु भनेर पत्र पठाएछन्, खास के करणले हो ?

ट्याक्सीलाई एपबाट सञ्चालन गर्न कसले र कसरी नदिएको हो हामीलाई थाहा छैन । ट्याक्सी युनियनका साथीहरुले एउटा एपलाई प्रोमोट गरिरहनुभएको छ । ट्याक्सी युनियनका साथीहरु नै लुकिछिपी पठाओ चलाइरहनुभएको छ ।

प्रधानमन्त्री कार्यालयले पठाओलाई जोगाएको भन्ने कुरा होइन । प्रधानमन्त्रीले राइड सेयरिङ नरोक्ने भन्दा पठाओको नाम त्यति धेरै सुनिएको पनि थिएन । त्यति बेला हामीभन्दा अर्काे कम्पनी प्रख्यात थियो । त्यो कम्पनीलाई बचाउँदा हामी बाँचेको हो ।

सुरुमा त प्रहरीले पठाओलाई समाएको थियो ? कसरी समस्या समाधान गर्नुभयो ?

प्रहरीले समाउँदा पठाओ सुरु भएको ३ महिना पनि भएको थिएन । त्यस बेला मैले कोही चिनेको थिइनँ र म नेपालमा पनि थिइनँ ।

पठाओलाई पक्राउ गर्दा सामाजिक सञ्जालमा आक्रोश पोखिएका थिए । हामीसँग प्रतिस्पर्धामा भएका अन्य कम्पनीकाहरुले प्रधानमन्त्रीलाई गएर प्रष्ट पार्नुभयो । मिडियाले पठाओ र अर्काे एक कम्पनीलाई रोक्यो भनेर लेखे र प्रधानमन्त्रीले यो दुईवटा कम्पनीलाई नरोक्नु भनेर भनिदिनुभयो ।

त्यसपछि मान्छेले पठाओ भन्ने कम्पनी पनि छ भनेर प्रयोग गर्न थाहा पाएका थिए । म त्यतिखेर आत्तिएर के गर्ने र कसरी अगाडी जाने भन्ने छलफलमा नै थिएँ ।

पठाओ सञ्चालन गर्ने योजना चाहिँ कसरी बनाउनुभएको हो ?

म र मेरा साथीहरु अन्य कुनै कम्पनीमा काम गरिरहेका थियौं । हामी उबर सञ्चालनको लागि अगाडि बढिसकेका थियौं । तर त्यो सञ्चालन गर्न सकेनौ । पछि त्यही कम्पनीमा भएका केही साथीहरु मिलेर पठाओ सञ्चालन गरेका हौं ।

पठाओले यात्रु ओसारपसार बाहेक केही नयाँ सेवा दिने योजना पनि बनाएको छ ?

हामीले नयाँ सेवा दिने योजना बनाइरहेका छौं । घरमा नै पाकेको खाना र सप्लाइ गर्ने सेवा दिइरहेका छौं र यसलाई अझ राम्रो गर्ने प्रयास गरिरहेका छौं ।

आफ्नो सामान कतै पठाउन पर्यो भने त्यो सामानको पनि सेवा दिने सोचका साथ हामी अगाडि बढिरहेका छौं । ४ महिनासम्ममा केही न केही नयाँ हामीले बजारमा ल्याउने छौं ।

कम्पनी स्थापना गर्दा यति माथि पुगिन्छ भन्ने सोच राख्नुभएको थियो ?

थिएन । सुरु गर्दा १० हजार टिप हाम्रो लागि सपना थियो । २० हजार टिप भनेको हाम्रो केही वर्षपछिको लक्ष्य थियो ।

पठाओ विदेशी कम्पनीसँग जोडिएको छ । नेपालबाट विदेशमा कति पैसा पठाउछ ?

यो अमेरिकन कम्पनी हो । तर, हामीले अहिलेसम्म १ रुपैयाँ पनि विदेश पैसा पठाएका छैनौं ।