सम्बन्ध विच्छेद भएको भन्दै स्टेजमै खोसियो ‘मिसेज श्रीलंका’ विजेताको शिरबाट ताज

श्रीलंकामा सौन्यर्द प्रतिस्पर्धाकी एक विजेतालाई उनको पारपाचुके भएको आरोप लगाउँदै अघिल्लो वर्षकी विजेताले लगाइसकेको क्राउन खाेसेकी छन् ।

गएको आइतबार भएको ‘मिसेज श्रीलंका’ फिनालेमा पुष्पिका डी सिल्भाले उपाधि जितेकी थिइन् ।

राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रशारण भएको समारोहमा सन् २०१९ कि विजेता कारोलिन जुरीले पुष्पिकालाई ताज पहिर्‍याइन् । तर केही समयपछि उनैले पुष्पिकाबाट क्राउन खोसेकी हुन् ।

उपाधिका लागि नियम अनुसार महिला विवाहित हुनु पर्ने र पारपाचुके गरेकी महिला मिसेज श्रीलंका बन्न नसक्ने भन्दै कारोलिनले पुष्पिकाबाट क्राउन खोसेर दोस्रो भएकी सुन्दरीको शिरमा लगाइदिइन् ।

पुष्पिकाबाट उनले बलपूर्वक ताज खोसेकी हुन् । ताज खोसिएपछि पुष्पिका रुँदै मञ्चबाट बाहिरिएकी थिइन् भने कारोलिना र उनका केही सहयोगी दोस्रो भएकी सुन्दरीलाई अंगालो हाल्दै खुशी मनाइरहेका थिए ।

राजधानी कोलम्बोमा आइतबार बेलुका भएको समारोहको सो घटनाको निन्दा भइरहेको छ । अहिले मिसेज श्रीलंकाको उपाधि पुष्पिकालाई नै दिइएको आयोजकले जनाएको छ । उनको सम्बन्ध विच्छेद नभएको पुष्टि भएपछि उपाधि फर्काइएको आयोजकको भनाई छ ।

आयोजकले पुष्पिकासँग माफी मागेको छ । पुष्पिका श्रीमानबाट छुट्टिएर बसेको भए पनि सम्बन्ध विच्छेद भने नभएको आयोजकनले बताएको छ ।

पुष्पिकाले क्राउन खोस्ने क्रममा टाउकोमा लागेको चोटको उपचारका लागि आफू अस्पताल जानु परेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छन् ।

आफूमाथि भएको अपमानविरुद्ध कानूनी उपचार खोज्ने पुष्पिकाले बताएकी छन् ।

उनले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘श्रीलंकामा म जस्ता धेरै एकल आमाहरु समस्यामा छन् । यो क्राउन ती महिलाहरुप्रति समर्पित छ, सन्तान हुर्काउनका लागि संघर्ष गरिरहेका एकल आमाहरुप्रति समर्पित छ ।’

आफूहरु घटनाबाट निकै दुःखी भएको र कारोलिनले गरेको व्यवहार आपत्तिजनक रहेको बताउँदै अनुशन्धान जारी रहेको आयोजकले जनाएको छ ।