सासु ससुरामाथि खुकुरी प्रहार

माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा एक ज्वाइँले सासु–ससुरालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो।

घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोकामगरलाई प्रहरीले नौमूले गाउँपालिका–५ चिसापानीबाट प’क्राउ गरेको छ।

सासु–ससुरा माथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई साधा पोषाकका प्रहरी टोलीले प’क्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले जानकारी दिए। आरोपित अनरामविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरी निरीक्षक सुनारले बताए। खुकुरी प्रहारबाट घाइते झपिलाल र लालसरीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका डा. जीवन ज्ञवालीले जानकारी दिए।

अनराम रोकामगरले झपिलाल र लालसरीको माइली छोरी बिमलालाई ९ वर्ष अघि प्रेमविवाह गरेका थिए। दिनँहु मदिरा सेवन गरेर घरमा कुटपिट गर्ने गरेको भन्दै ३ महिनादेखि एक छोरा र छोरीसहित बिमला माइतीमा बस्दै आएकी थिइन्। त्यही विषयलाई रिस पोख्न आफूले खुकुरी प्रहार गरेको प्रहरीसँग अनरामले बयान दिएका छन्।

बिमला र छोराछोरीलाई घर लैजाने सल्लाहका लागि माइतीघर पुगेको बेला दुई महिना पहिले माइती घरमै बिमला माथि कुटपिट गरेको घटनामा बिमलाका बुबा झपिलालले ‘तिमीसँग अब छोरी पठाउँदिन’ भनेको विषयमा अनराम रिसाएका थिए। राती मस्त निद्रामा भएको बेला ३ बजे ससुरा झपिलालले ओडेको सिरक हटाएर एक्कासी टाउकोमा प्रहार गर्न लागेको खुकुरी ओछ्यानमै हातले छेकेको कारण टाउकोमा कम चोट लागेको छ। ‘टाउकोमा चोट लागिसकेको थियो, म उठेँपछि गर्धनमा ताकेको दोस्रो चोटबाट जोगिन खोज्दा पनि छातिमा लागेको छ’, झपिलालले भने।

दोस्रो चोट लागि सकेपछि तेस्रो प्रहार तयार गर्न नपाउँदै ससुरा झपिलाल र सासु लालसरी दुबै जनाले अनरामको हातको खुकुरी खोस्न खोज्दा दुबै जनाको हत्केला काटे लगतै आरोपित अनराम भागेका थिए। दोस्रो चोटपछि लालसरीले गाउँलेको गुहार मागेपछि छिमेकीको चहलपहल सुरु भएपछि खुकुरी लिएरै उनी भागेका प्रत्यक्षदर्शी प्रेम रोकामगर बताए। गाउँका मान्छेहरु जम्मा हुन थालेपछि खुकुरी देखाएर भाग्दै गर्दा घटनास्थलदेखि पाँच सय मिटर टाढा निगालाको झाँगमा खुकुरी फालेर मुलबाटोबाट भागेको उनले प्रहरीलाई बताएका छन्। अनराम र उनको ससुराली घर १ घण्टाको पैदल दुरीमा रहेको छ।