‘नेपालका सरकारी कर्मचारीको बुद्धि झिँगाको टाउको जत्रै’

नेपालको निजामति प्रशासन सधैं आलोचित छ । ढिला सुस्ती र घुसका कारण यो संयन्त्र आलोचित भएको हो । आलोचना गर्ने क्रममा अहिले उपप्रधानमन्त्री ईश्वर पोखरेल समेत थपिएका छन । उनले निजामती प्रशासनको आलोचना गर्दै निजामती कर्मचारी झिँगे सोचबाट मुक्त हुन नसकेको भनेका हुन् ।

पोखरेलले उक्त कुरा निजामती कर्मचारीका उच्च तहका अधिकारीहरूको कार्यक्रममा भनेका थिए । उपप्रधानमन्त्री पोखरेल सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा बुधबार आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थिए । त्यसक्रममा उनले निजामती प्रशासनमा झिँगे टँसाइ सोच प्रमुख समस्या रहेको भनेका हुन्।

उनले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको बताए । निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको पोखरेलको दावी थियो । उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव । निजामती प्रशासन अझैसम्म, माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु, झिँगे टसाई सोचबाट मुक्त हुन सकेको छैन ।

यसलाई विरासतमा पाएको भन्ने गरिए तापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरूसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’ कर्मचारीतन्त्रले जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलको आरोप थियो।