मप्रति जनताको अझै भरौसा रैछ, चुनावै भए नि डर छैन – प्रचण्ड

म अब काठमाडौं धेरै बस्दिन, गाउँ जान्छु केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजधानीको एक कार्यक्रममा भन्नुभएको थियो । लगत्तै उहाँ चुनाव क्षेत्रको खोजीमा सिन्धुली जानुभयो । त्यसपछि अहिले पश्चिम नेपालको भ्रमणमा हुनुहुन्छ।

रुकुम पुगेर मंगलबार प्रचण्डले भन्नुभयो धेरै गल्ती गरियो, ठगहरुलाई वरिपरि राखियो, अब तपाईंहरुलाई वरिपरि राख्छु ।बुधबार पनि प्रचण्डको पश्चिम भ्रमण जारी छ । आज एक कार्यक्रममा उहाँले भन्नुभयो मलाई पटक–पटक अवसर दिएकोमा नेपाली जनता प्रति ऋणी छु।

पटक–पटक मौका पाएर पनि जनताका लागि सोचे जति गर्न नसकेको दुखेसो प्रचण्डले गर्नुभयो ।जनताले विभिन्न अवसर दिए । मलाई जनयुद्धको नेतृत्व गर्ने अवसर दियो, शान्ति सम्झौताको नेतृत्व गर्ने अवसर दियो, संविधान सभा निर्वाचन गराउने महत्वपूर्ण अवसर पनि मैले पाएँ । त्यसकारण म जनता प्रति ऋणी छु।

अहिले सम्म ठूलै मौका पाएको थिएँ । सोंचेको जति भने गर्न सकिएन । देस विकास, भौतिक निर्माण तथा सामाजिक विकास गर्न चाहेको थिएँ । तर, चुनावबाट मलाई मौका दिइएन।

आफूले सोंचे जति काम गर्न नसक्नुमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोष दिनुभयो ।केपी ओली भन्ने मान्छेले पार्टी एकता गरेको बेला गरेको सहमति बिर्सिए। मसँग भएका सहमति पालना भएन।

जनताका लागि मौका पाए अझै विकास गर्ने मन भएको दावी गर्दै आफूले विभिन्न किसिमका मान्छेलाई भेटेको र त्यस्ता मानिसहरुको कुरा सुन्दा केही गर्न सकिने आशा पलाएको बताउनुभयो।

म प्रति अझै पनि जनताको भरौसा छ भन्ने महशुस हुँदैछ, विभिन्न किसिमका मान्छेसँग भेट्दा मेरो प्रशंसा गरेको पाएँ। एउटा नयाँ उर्जा लिएर अब म काठमाडौं जान्छु प्रचण्डले भन्नुभयो।